काठमाडौँ — प्रख्यात पप गायिका केटी पेरीसहित ६ जना महिला अन्तरिक्षको भ्रमण सकेर पृथ्वीमा फर्किएका छन् । अर्बपति जेफ बेजसको कम्पनी ब्लु अरिजिनले बनाएको न्यु सेफर्ड रकेटमार्फत उनीहरू पर्यटकका रूपमा अन्तरिक्षमा गएका थिए ।
अन्तरिक्ष भ्रमणमा निस्किनेमध्ये पेरीसहित बेजसकी हुनेवाला श्रीमती लरेन सान्चेज, टेलिभिजन प्रस्तोता गेल किङ, नासाकी पूर्वकर्मचारी आयसा बोवी, नागरिक अधिकारकर्मी अमान्डा नुयेन र फिल्म निर्माता किरियान फ्लिन थिए ।
जम्मा ११ मिनेट लामो उडानको टिकट मूल्य स्पष्ट नखुलाए पनि १ लाख ५० हजार डलर अर्थात हालको विनिमय दरअनुसार करिब २ करोड नेपाली रुपैयाँ रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसमा यात्रुहरूले पृथ्वीको आधा चक्कर लगाएका थिए । महिलाहरूको यो टोली पृथ्वीको सतहभन्दा १ सय किलोमिटर माथि, ‘कर्मन लाइन’ भनिने वायुमण्डलको आखिरी तह र बाह्य अन्तरिक्ष शुरु हुने स्थानभन्दा केही माथिसम्म पुगेका थिए ।
त्यस क्रममा उनीहरूले केहीबेर भारशून्य (वेटलेसनेस) महसुस गरेको प्रतिकृया दिएका छन् । यानभित्र हावामा झैँ तैरिएको र पृथ्वीको आधा गोलाइसँगै अन्तरिक्षको अँध्यारोसमेत अवलोकन गर्न पाएको उनीहरूले बताएका छन् । अन्तरिक्ष यात्रामा डेजी फुल बोकेर गएकी गायिका पेरीले ‘ह्वाट अ वन्डरफुल वर्ल्ड’ बोलको गीतसमेत गाएकी थिइन् । वैज्ञानिक बोवीले वनस्पती विज्ञान र मानव शरीरसँग सम्बन्धित तीनवटा अनुसन्धान गर्न भ्याइन् ।