काठमाडौँ — राष्ट्रिय साइबर सुरक्षा केन्द्रले आयोजना गरेको चार दिने ‘नेसनल साइबर ड्रिल २०२४’ शनिबार सम्पन्न भएको छ । अन्तिम दिनको ‘क्याच द फ्याग’ (सीटीए) अभ्यासमा निर्वाचन आयोगका कम्प्युटर इन्जिनियर सुरेश बसौलाले सबैभन्दा बढी अंक प्राप्त गरी उत्कृष्ट ठहरिए । उनलाई केन्द्रले पुरस्कार प्रदान गरेको थियो ।
चैत २० गतेदेखि सुरु भएको चार दिने साइबर ड्रिल तालिम चैत २३ गते समापन गरिएको हो । तालिममा विभिन्न ३० वटा सरकारी निकायका कम्प्युटर अधिकृत, इन्जिनियर र निर्देशकहरू सहभागी थिए । ‘साइबर सुरक्षासम्बन्धी घटनाहरू कसरी हुन सक्छन्, ती घटना हुन नदिन के गर्नुपर्छ र भएका घटनापछि कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा व्यावहारिक अभ्यास गराइएको थियो,’ साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले भने ।
साइबर ड्रिल तालिममा टेबल-टप एक्सरसाइज (टीटीएक्स) र अन्तिम दिन ‘क्याच द फ्याग’ (सीटीएफ) भनिने प्रायोगात्मक अभ्यास गरिएको थियो । साइबर सुरक्षासम्बन्धी कम्पनी क्रिप्टोजेन नेपालले तालिमको सहजिकरण गरेको थियो । यो कार्यक्रम साइबर सुरक्षा केन्द्रको प्रमुख कार्यक्रममध्ये एक भएको निर्देशक महर्जनले बताए ।
‘साइबर ड्रिलमा सहभागीहरू आ-आफ्ना निकायमा फर्किएपछि तालिममा प्राप्त ज्ञान तथा अभ्यासबारे छलफल गर्ने, जानकारी बाँड्ने र सम्भावित साइबर आक्रमणका जोखिमबारे सचेत गराउने विश्वास लिएका छौँ,’ उनले भने ।
तालिम समापनका अवसरमा साइबर सुरक्षा केन्द्रका महानिर्देशक अनिल कुमार दत्तले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । सहभागीहरूले तालिमबाट धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिएका थिए ।