काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर व्यक्तिको चरित्र हत्या, अश्लील तथा आपत्तिजनक सामग्री निर्माण तथा सार्वजनिक गर्ने क्रम बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले त्यस्तो नगर्न सूचना प्रकाशन गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल र एआईको अत्यधिक प्रयोगसँगै दुरुपयोग बढेको ब्युरोको ठहर छ । व्यक्तिको चरित्र हत्या, अश्लील तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगीतको सिर्जना गरी/गराई मानमर्दन गर्ने कार्य बढ्दै गएको साइबर ब्युरोले जनाएको छ । यसमा ब्युरोको गम्भीर ध्यानाकर्षण भएको मंगलबार प्रकाशित सूचनामा उल्लेख छ ।
यस्ता गतिविधिले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने मात्र नभई विद्यमान साइबर कानुन अनुसार अपराधसमेत हुने ब्युरोले स्पष्ट पारेको छ । प्रहरी उपरीक्षक दीपकराज अवस्थीले हस्ताक्षर गरेको सूचनामा नागरिकलाई सोच विचारपूर्वक डिजिटल प्रविधिको प्रयोग गर्न आग्रह गरिएको छ ।
‘कानुनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरूको सम्मानमा आँच नपुर्याउने गरी सकारात्मक प्रयोग गर्नु हुन सबैलाई साइबर ब्युरो अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।